Section 81
लिक्विडेटरको नियुक्ति
(१) अदालतले कुनै बैंक वा वित्तीय संस्था बाध्यात्मक खारेजीमा लैजाने काम कारबाही प्रारम्भ गर्न राष्ट्र बैंकलाई लिक्विडेटरको नियुक्तिको लागि सिफारिस गर्न आदेश दिन सक्नेछ । (२) उपदफा (१) बमोजिम अदालतले आदेश दिएकोमा राष्ट्र बैंकले पन्ध्र दिनभित्र कम्तीमा तीन जनालाई लिक्विडेटरमा नियुक्तिको लागि सिफारिस गर्नु पर्नेछ । (३) उपदफा (२) बमोजिम राष्ट्र बैंकले अदालत समक्ष लिक्विडेटरको सिफारिस गर्दा प्रचलित कानून बमोजिम दामासाही व्यवसायीको कार्य गर्न इजाजतपत्र प्राप्त व्यक्ति मध्येबाट बैंकिङ्ग तथा वित्तीय क्षेत्रको अनुभव भएको व्यक्ति सिफारिस गर्नु पर्नेछ । (४) उपदफा (२) बमोजिम सिफारिस गरिएका तीन व्यक्तिमध्ये कुनै एक व्यक्तिलाई अदालतले लिक्विडेटरको रुपमा नियुक्ति गर्न सक्नेछ । (५) उपदफा (४) बमोजिम लिक्विडेटर नियुक्ति भएपछि त्यस्तो बैंक वा वित्तीय संस्थाको सञ्चालक समिति स्वतः विघटन भएको मानिनेछ र लिक्विडेटरले अन्यथा आदेश दिएकोमा बाहेक त्यस्तो बैंक वा वित्तीय संस्थाले नियुक्त गरेका सम्पूर्ण पदाधिकारी तथा कर्मचारीहरुको सेवा स्वतः अन्त्य हुनेछ । (६) उपदफा (४) बमोजिम नियुक्ति भएको लिक्विडेटरले राजीनामा दिएमा, निजको मृत्यु भएमा वा निज तोकिएको कार्य सम्पादन गर्न असक्षम भएको कुरा राष्ट्र बैंकलाई लागेमा राष्ट्र बैंकले निजलाई हटाई अर्को लिक्विडटर नियुक्ति गरी पाउन यस दफा बमोजिम अदालत समक्ष निवेदन दिनु पर्नेछ । (७) लिक्विडेटरको पारिश्रमिक तथा सेवा सुविधा राष्ट्र बैंकको सिफारिसमा अदालतले निर्धारण गरे बमोजिम हुनेछ ।